चन्द्रौटा
शिवराज नगरपालिकाका तीन वडाका १० विद्यालयका विद्यार्थीबीच आयोजित कार्यक्षेत्रस्तरीय हाजिरी जवाफ प्रतियोगितामा ज्ञानउदय आधारभूत विद्यालय, सेमरी प्रथम भएको छ।
शिवराज नगरपालिका वडा नं. ४, १० र ११ अन्तर्गतका विद्यालयका कक्षा ४ र ५ मा अध्ययनरत ४० विद्यार्थी सहभागी प्रतियोगितामा दुर्गा भगवती माध्यमिक विद्यालय, नयाँ बस्ती दोस्रो, दुर्गेश नन्दनी आधारभूत विद्यालय, थुनिया तेस्रो र राष्ट्रिय आधारभूत विद्यालय, डकहिया चौथो भएका छन्।
विद्यार्थीमा ज्ञान, तार्किक क्षमता, आत्मविश्वास र प्रतिस्पर्धात्मक भावनाको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ। विभिन्न विषयमा सोधिएका प्रश्नको विद्यार्थीले उत्साहपूर्वक उत्तर दिएका थिए।
कार्यक्रमको अध्यक्षता स्थानीय अधिकार कार्यक्रमकी कार्यक्रम अधिकृत ममता मिश्राले गरेकी थिइन्। प्रमुख अतिथिमा राष्ट्रिय आधारभूत विद्यालय, डकहियाका प्रधानाध्यापक हिरा पोख्रेल थिए। कार्यक्रममा सहभागी विद्यालयका शिक्षक तथा स्थानीय अधिकार कार्यक्रमका कर्मचारीको उपस्थिति थियो।
सिद्धार्थ सामाजिक विकास केन्द्रको आयोजनामा भएको प्रतियोगिता शिवराज नगरपालिकाको सहकार्य र एक्सनएड इन्टरनेसनल नेपालको सहयोगमा सम्पन्न भएको हो। आयोजकले विद्यार्थीको सिकाइलाई कक्षाकोठाबाट बाहिर ल्याउँदै प्रश्न गर्ने, सोच्ने र आफ्नो ज्ञान प्रस्तुत गर्ने अवसर प्रदान गर्न प्रतियोगिताले महत्वपूर्ण भूमिका खेलेको जनाएको छ।
पढौँ, सिकौँ, सोचौँ—उज्यालो भविष्य निर्माण गरौँ भन्ने सन्देशसहित प्रतियोगिता सम्पन्न भएको हो।








