शितगंगा, अर्घाखाँची – नेपालकै सबैभन्दा ठूलो नगरपालिका, शितगंगा नगरपालिकाको वडा नं. ५ स्थित जुकेना स्वास्थ्य चौकीमा विगत आठ महिनादेखि २४ घण्टे प्रसूति सेवा पूर्ण रूपमा बन्द भएको छ। स्वास्थ्य चौकीको भित्तामा ठूला अक्षरले ‘२४ घण्टे प्रसूति सेवा’ लेखिए पनि व्यवहारमा सेवा नपाउँदा स्थानीय सेवाग्राहीहरू चरम मर्कामा परेका छन्।
स्वास्थ्य चौकी प्रमुख सुशील भाट क्षेत्रीका अनुसार सेवा सुचारु गर्न पटक-पटक सम्बन्धित निकायमा आग्रह गरिए पनि हालसम्म कुनै सुनुवाइ भएको छैन। “केही समयअघि बन्द रहेको ल्याब सेवा सुचारु भए पनि प्रसूति सेवा भने अझै ठप्प छ,” क्षेत्रीले बताउनुभयो।
भौगोलिक विकटता र बढ्दो सास्ती:
यो स्वास्थ्य चौकीबाट शितगंगाका वडा नं. ४, ५, ६, ७ र १० का साथै छिमेकी भूमिकास्थान नगरपालिका र प्युठान जिल्लाका बासिन्दाले समेत सेवा लिँदै आएका छन्। विशेषगरी यो वडा नगरप्रमुखकै गृहवडा समेत भएकाले व्यवस्थापन समिति र जनप्रतिनिधिहरूको उदासीनताप्रति स्थानीयले आक्रोश व्यक्त गरेका छन्।
स्वास्थ्य जस्तो संवेदनशील विषय, त्यसमा पनि आकस्मिक प्रसूति सेवा रोकिँदा सुत्केरी व्यथा लागेका महिलाहरूलाई घण्टौँको यात्रा गरी अन्यत्र जानुपर्ने बाध्यता छ। सरोकारवाला निकायले यसतर्फ तत्काल ध्यान दिनु जरुरी देखिन्छ।









