कपिलवस्तु–३ मा नेकपाको चुनावी तयारी : शिवराजमा निर्वाचन परिचालन समिति गठन

कपिलवस्तु ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कपिलवस्तु क्षेत्र नं. ३ ले आफ्नो चुनावी गतिविधिलाई तीव्र पारेको छ। यसै क्रममा शिवराज नगरस्तरीय निर्वाचन परिचालन समिति गठन गरिएको छ।

पार्टीका नगर अध्यक्ष चुर बहादुर खड्काको संयोजकत्वमा गठित उक्त समितिले निर्वाचनमा नेकपाका उम्मेदवार एहसान खानलाई विजयी गराउन विशेष भूमिका खेल्नेछ। नगरस्तरदेखि वडा तहसम्म संगठन सुदृढीकरण र चुनावी अभियानलाई प्रभावकारी बनाउने उद्देश्यले यो संरचना खडा गरिएको हो।

विभिन्न उपसमितिहरू गठन
निर्वाचन परिचालनलाई व्यवस्थित र नतिजामुखी बनाउन मूल समितिका अलावा विभिन्न विषयगत उपसमितिहरू पनि निर्माण गरिएको नगर इन्चार्ज दिनेश पुनले जानकारी दिनुभयो। उहाँका अनुसार कार्यविभाजन यस प्रकार गरिएको छ:

  • अनुगमन समिति: इलियास मुसलमानको नेतृत्वमा।
  • मतदाता शिक्षा तथा परिचालन समिति: सीता बुढाको नेतृत्वमा (मतदाता सचेतना, घरदैलो र मतदान प्रक्रियाबारे जानकारी दिने)।
  • युवा तथा विद्यार्थी परिचालन समिति: निरज मगर, पशुपति कुर्मी र मनु बुढा (युवा परिचालन तथा भेला आयोजना गर्ने)।
  • मिडिया तथा प्रचार–प्रसार समिति: माधव बेल्वासे, पुनहरी घिमिरे र सूर्य गुरुङ।

घरदैलो र जनसंवाद सुरु गरिने
समिति गठनसँगै अब शिवराज नगरपालिकाका सबै वडाहरूमा निरन्तर चुनावी अभियान सञ्चालन गरिने नगर कमिटीले जनाएको छ। इन्चार्ज पुनका अनुसार, घरदैलो अभियान, टोलसभा, कोणसभा र जनसंवाद कार्यक्रममार्फत पार्टीको सन्देश जनतामाझ पुर्‍याइनेछ।

नेकपाले आसन्न निर्वाचनलाई जनमुखी राजनीति र विकासको एजेन्डा स्थापित गर्ने अवसरको रूपमा लिएको जनाउँदै जनताको अपार माया र समर्थन प्राप्त हुने विश्वास व्यक्त गरेको छ।

धेरै पढिएको

ताजा समाचार