युवालाई स्वरोजगार बनाउन शिवराजमा ३० दिने ब्युटिसियन र हाउस वायरिङ तालिम सुरु

चन्द्रौटा, कपिलवस्तु ।
कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा नं. ११ मा युवाहरूलाई सीपमार्फत आत्मनिर्भर र स्वरोजगार बनाउने उद्देश्यका साथ ३० दिने ब्युटिसियन र हाउस वायरिङ तालिमको औपचारिक उद्घाटन गरिएको छ।

वडा कार्यालयको आर्थिक सहयोग र एस.पि.एस.ए (S.P.S.A.) कम्प्युटर इन्स्टिच्युट, चन्द्रौटाको प्राविधिक सहयोगमा सञ्चालित यस तालिमको एक विशेष समारोहका बीच उद्घाटन गरिएको हो।

तालिम उद्घाटन कार्यक्रममा बोल्दै शिवराज नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष रामेश्वर बर्माले वर्तमान समयमा सैद्धान्तिक शिक्षासँगै व्यावहारिक र प्राविधिक सीपको खाँचो रहेको औंल्याउनुभयो। उहाँले भन्नुभयो, “युवाहरू रोजगारीका लागि विदेशिनुपर्ने बाध्यतालाई न्यून गर्न वडाले सीपमूलक कार्यक्रममा लगानी गरेको हो। यो ३० दिनको तालिमलाई अवसरका रूपमा लिई सहभागीहरूले दक्षता हासिल गर्नेमा म विश्वस्त छु।”


कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै सिद्धार्थ सामाजिक विकास केन्द्रका कार्यक्रम संयोजक अजय चौधरीले सिकेको सीपलाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो। त्यस्तै, सहज नेपालका सचिव तापश कुमार मिश्राले युवाहरू दक्ष भए मात्र समाज र राष्ट्रको आर्थिक विकास सम्भव हुने बताउँदै तालिमको सफलताको शुभकामना व्यक्त गर्नुभयो।


तालिमका व्यवस्थापक एवं एस.पि.एस.ए. कम्प्युटर इन्स्टिच्युटका प्रोपराईटर सुवास यादवले तालिमको अवधिभर प्रशिक्षार्थीहरूलाई पूर्ण रूपमा व्यावहारिक अभ्यास गराइने जानकारी दिनुभयो। उहाँका अनुसार हाउस वायरिङ र ब्युटिसियन दुवै विधामा ३० दिनसम्म सञ्चालन हुने यस तालिममा स्थानीय युवाहरूको उल्लेख्य सहभागिता रहेको छ।

धेरै पढिएको

ताजा समाचार