चन्द्रौटा, कपिलवस्तु ।
“बोल्न जान्नु एउटा कला हो, तर प्रभावकारी ढंगले बोल्न सक्नु शक्ति हो ।” यही सन्देशका साथ रहनावाल सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा सञ्चालित “कार्यक्रम सञ्चालन (उद्घोषण) तथा क्षमता विकास तालिम” आज भव्यताका साथ सम्पन्न भएको छ ।
शिवराज नगरपालिका–५, चन्द्रौटास्थितमा मिति २०८३ असार २९ देखि २० गतेसम्म सञ्चालन भएको उक्त तालिम सामुदायिक रेडियो समानता १०५ मेगाहर्ज, चन्द्रौटाको सहजीकरणमा सम्पन्न भएको हो । तालिमले सहभागीहरूमा आत्मविश्वास, वैचारिक स्पष्टता र प्रस्तुतीकरण सीप बढाउन महत्त्वपूर्ण भूमिका खेलेको सहभागीहरूको भनाइ छ ।
तालिमका प्रमुख अतिथि वरिष्ठ वन अधिकृत पहलमान सेमुर्जा मगरले उद्घोषण कला केवल सञ्चालक वा सचिवको मात्र विषय नभई सबैको जीवनोपयोगी सीप भएको बताउनुभयो । उहाँले भन्नुभयो “उद्घोषण कला विशेष सचिवले मात्र सिक्नुपर्ने विषय होइन, यो सबैले जान्नैपर्ने विषय हो । निरन्तर अभ्यासले मात्र यसमा निखारता आउँछ ।”
उहाँले वनको संरक्षण र विकाससँगै आत्मनिर्भर समाज निर्माण गर्नुपर्ने आवश्यकतामा जोड दिँदै घर–घरमा रोजगारी सिर्जना गरी उत्पादन वृद्धि गर्न सबै लाग्नुपर्ने बताउनुभयो ।
तालिममा समसामयिक तथा व्यावहारिक विषयवस्तु उद्घोषण कला, भाषण कला,नेतृत्व विकास,साइबर सुरक्षा र कृत्रिम बौद्धिकता (AI) को प्रयोग समेटिएको थियो ।
प्रविधिको तीव्र विकाससँगै ग्रामीण समुदायमा पनि AI र साइबर सुरक्षा जस्ता विषयमा जानकारी अपरिहार्य भइसकेको सन्दर्भमा यो तालिम विशेष महत्त्वपूर्ण मानिएको छ । सहभागीहरूले सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक अभ्यासबाट प्रत्यक्ष सिक्ने अवसर पाएका थिए ।
कार्यक्रममा स्वागत मन्तव्य कोषाध्यक्ष विमला बेल्वासेले व्यक्त गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन सहभागि कविता थारूले गर्नुभएकी थिइन् । रहनावाल सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष उत्तम थारूको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सामुदायिक रेडियो समानताका प्रमुख प्रशिक्षकराजु बाबु खराल, पत्रकार संजिव गहतराजले प्रशिक्षण प्रदान गर्नुभएको थियो ।
तालिमको समापनमा सम्पूर्ण सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो । सहभागीहरूले यस्ता तालिम गाउँ-गाउँमा नियमित रूपमा सञ्चालन हुनुपर्ने माग राख्दै आयोजक र सहजकर्ता संस्थालाई धन्यवाद ज्ञापन गरेका थिए ।आयोजक समूहले भविष्यमा पनि सामुदायिक सशक्तीकरण, वन संरक्षण र सीप विकास लक्षित यस्ता कार्यक्रम निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ ।












