कपिलवस्तु ।
राष्ट्रिय बाल दिवस २०८३ को अवसरमा कपिलवस्तुको शिवराज नगरपालिका–११, थुन्हिया गाउँमा बाल अधिकारसम्बन्धी सडक र्याली तथा चित्र प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ।
“बालापनको रक्षा, भविष्यको सुरक्षा” भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा बालबालिकाले विभिन्न जनचेतनामूलक नारा, प्लेकार्ड तथा चित्रमार्फत बाल अधिकारको संरक्षण, बालविवाह अन्त्य, बालश्रम न्यूनीकरण, शिक्षा तथा बालमैत्री वातावरण निर्माणको सन्देश दिएका थिए।
कार्यक्रममा बालबालिकाको सहभागितामा गाउँमा सडक र्याली निकालिनुका साथै बाल अधिकारसँग सम्बन्धित चित्रहरू प्रदर्शन गरिएको थियो। र्यालीका क्रममा बाल अधिकारको सम्मान र संरक्षण गर्नुपर्नेमा जोड दिँदै विभिन्न नाराहरू लगाइएको थियो।
कार्यक्रम ActionAid Nepal को सहयोग, शिवराज नगरपालिका–११ वडा कार्यालयको समन्वय, सिद्धार्थ सामाजिक विकास केन्द्रको सहजीकरण तथा युवा कचहरीको आयोजनामा सम्पन्न भएको हो।
कार्यक्रमले बालबालिकालाई आफ्ना अधिकारबारे सचेत बनाउनुका साथै समुदायमा बाल अधिकारप्रति सकारात्मक सोच र जिम्मेवारी विकास गर्न महत्वपूर्ण योगदान पुर्याएको आयोजकले जनाएको छ।
राष्ट्रिय बाल दिवसका अवसरमा आयोजित कार्यक्रमले बालबालिकाको अधिकार संरक्षणसँगै उनीहरूको सुरक्षित, सम्मानजनक र समुन्नत भविष्य निर्माणका लागि समुदायस्तरमा सामूहिक प्रतिबद्धताको आवश्यकता समेत औंल्याएको छ।











