उपत्यकाको फोहर व्यवस्थान गर्न अझै १० दिन लाग्ने


काठमाडौं – दुई महिनादेखि काठमडौँ उपत्यकामा थुप्रिएको फोहर व्यवस्थापनका लागि कम्तीमा १० दिनको लाग्ने भएको छ । पटकपटक सिसडोल र बञ्चरेडाँडाका स्थानीयले विभिन्न माग राखेर फोहर व्यवस्थापनमा अवरोध गरेपछि उपत्यकाको फोहर दुई महिनादेखि व्यवस्थापन हुन सकेको थिएन ।

सहरका चोक, गल्लीमा लामो समयदेखि फोहर थुप्रिएको छ । साविक बमोजिम फोहर व्यवस्थापनको लागि स्थानीयले अवरोध नगरे र पानी परेर बाटो बन्द नभए आगामी १० दिनमा सबै फोहर व्यवस्थापन हुने कामपाका प्रमुख बालेन्द्र साहको सचिवालय सदस्य सुनिल लम्सालले जानकारी दिए ।

उनका अनुसार अहिले पनि काठमाडौँ उपत्यकाको १८ स्थानीय तहमा आठ हजार टिप्पर फोहर व्यवस्थापन गर्नुपर्ने छ । विना अवरोध नियमित फोहर व्यवस्थापन गर्न सकेको अवस्थामा सबै फोहर व्यवस्थापनमा सो समय लाग्नेछ । फोहर व्यवस्थापनको सम्बन्धमा बुधबार काठमाडौँ, धादिङ र नुवाकोटका प्रमुख जिल्ला अधिकारी, सिसडोल र बञ्चरेडाँडाका स्थानीयबीच भएको चार बुँदे सहमतिपछि बिहीबारबाट साविक बमोजिम फोहर व्यवस्थापन कार्य हुन थालेको हो ।

पछिल्लो सम्झौताअनुसार फोहरको गाडीबाट लिच्चड चुहाउन पाइने छैन । तर कामपासँग अहिले लिच्चड ट्याङ्क भएको ७५ टिपर छन् । ती टिपरले दैनिक दुई टिप गर्नेछन् भने एक सय ५० वटा लिच्चड ट्याङ्क भएका टिपर भाडामा लिएर प्रयोग गर्ने तयारी रहेको सचिवालय सदस्य लम्सालले बताए ।सहमतिपछि बिहीबारबाट नै दुई महिनादेखि टेकु ट्रान्सफर स्टेसनमा थुपारिएको फोहर व्यवस्थापनको काम पनि सुरु भएको छ ।

धेरै पढिएको

ताजा समाचार