काठमाडौँ — नेपाली गोलकिपर किरण चेम्जोङ भारतको आई लिग क्लब राउन्डग्लास पन्जावमा एक सिजनको लागि अनुबन्धित भएका छन् । माल्दिभ्समा माजिया स्पोर्ट्स एन्ड रिक्रिएसनबाट धिवेही प्रिमियर लिग र एफए कपको उपाधि जितेलगत्तै उनले आई लिग खेल्ने निश्चित गरेका हुन् ।
माल्दिभ्सबाट मंगलबार स्वदेश फर्किएका किरणले भने, ‘पहिला पनि दुईपल्ट पन्जाव फुटबल क्ल्बबाट आई लिग खेलिसकेको छु । आउने सिजन आई लिग च्याम्पियनले आईएसएल (इन्डियन प्रिमियर लिग) मा बढुवा हुने रहेछ । पन्जावको लक्ष्य यही हो । माल्दिभ्समा प्रतियोगिता सकेलगत्तै राम्रो प्रस्ताव आएपछि पन्जावबाट नौ महिना (एक सिजन) खेल्ने पक्का गरे । त्यसको लागि सेप्टेम्बरमा भारत जाने छु ।’
विवाहको तयारीमा रहेका ३२ वर्षीय उनले यसअघि ‘दोस्रो हाफ’मा मात्रै पुगेर पनि २०१७–१८ को सिजन पन्जावबाट आई लिग जितेका थिए । त्यही सिजन उनी टीसी स्पोर्ट्ससँग माल्दिभ्सको प्रिमियर लिग च्याम्पियन भएका थिए । यसपाली त्यो उपाधि माजियाबाट दोहोर्याए । माल्दिभ्समा लिग जित्दा दुईपल्टै लिगकै उत्कृष्ट गोलकिपरको अवार्ड जितेका उनी आई लिगमा पनि सिजनकै उत्कृष्ट गोलकिपर भइसकेका छन् । उनी माजियाले क्लब भ्यालेन्सियालाई २–० ले हराएर तेस्रोपल्ट एफए कप जितेको भोलिपल्टै स्वदेश फर्किएका हुन् ।
नेपाली राष्ट्रिय टिमबाट सर्वाधिक खेल खेलेका किरण कार्यवाहक प्रशिक्षक प्रदीप हुमागाईंले बंगलादेशविरुद्ध असोज ११ गते दशरथ रंगशालामा हुने मैत्रीपूर्ण खेलका लागि बोलाइएका ४० जनाको सूचीमा छन् । बन्द प्रशिक्षणमा ‘होटलमा बस्न माग गरेका’ रोहित चन्दसहितका खेलाडीहरूलाई साथ दिएका उनलाई कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले गत जेठमा सम्पन्न एसियन कप २०२३ छनोट (तेस्रो चरण) को टिमबाटै हटाइदिएका थिए । त्यसअघि उनी राष्ट्रिय टिमका नियमित कप्तान थिए ।