काठमाडौँ – भदौ १० शुक्रवार (भोलि ) देखि सार्वजनिक प्रदर्शनमा आउने सिनेमा ‘प्रकाश’को जुम्लामा प्रिमियर गरिने भएको छ । नेपाली कथानक चलचित्र ‘प्रकाश’ को प्रिमियर शो जुम्लाको एक दुर्गम गाउँमा गरिने भएको छ । आगामी शुक्रबार अर्थात् भदौ १० गतेबाट प्रदर्शनमा आउने चलचित्रको प्रिमियर शो जुम्लाको पूर्वमा पर्ने पातारासी गाउँपालिकाको तिर्खु गाउँमा गरिने भएको हो ।
प्रिमियर शोका लागि ‘प्रकाश’ चलचित्रका नायक प्रदीप खड्का र कथा लेखक विकास सुवेदी जुम्ला पुगेका छन् । निर्माण पक्षले ५ गते जुम्ला जिल्लाको तिर्खु गाउँको मोक्ष माध्यमिक विद्यालयको प्रांगणमा हुने प्रिमियरमा सम्पूर्ण गाउँ बासीलाई निमन्त्रणा गरेको छ ।
चलचित्र प्रकाश प्रदर्शनमा नआउँदै ७५ प्रतिशत लगानी सुरक्षित भएको चलचित्र निर्माताको दाबी छ । चलचित्र निर्माणमा झन्डै २ करोड ५० लाख बजेट लगानी भएको छ । कथा लेखक सुबेदीले भने, ‘चलचित्र,भारत,अमेरिका,जापान,अष्ट्रेलिया लगायतका दर्जनौँ देशमा एकैसाथ प्रदर्शन हुँदैछ । गीत, टेर्लरबाट राम्रो प्रतिक्रिया आएको छ । हाल सम्म ७५ प्रतिशत लगानी सुरक्षित हुने गरी विभिन्न देशमा टिकट बुकिङ भइसकेको छ । यो फिल्म घाटा नजानेमा ढुक्क छौ ।’ साथै अस्ट्रेलियाबाट चलचित्र प्रदेशले उठेको रकम पातारासीको ऋणमोक्ष माविको शैक्षिक विकासका लागि सहयोग प्रदान गरिने छ ।
जुम्ला मै छायांकन भएकाले त्यहाँका बासिन्दालाई पहिलो दर्शकको रुपमा सिनेमा देखाउन लागिएको निर्देशक दिनेश राउतले बताए । ‘स्थानीय दर्शकहरु सिनेमा हेर्दा अपनत्व महसुस गर्छन वा गर्दैनन् रु सिनेमा यथार्थसंग नजिक छरछैन भन्ने पत्ता लगाउन जुम्ला प्रिमियरको बारेमा निर्णय गरेका हौँ ।’ निर्देशक राउतले भने ।
शिक्षक बन्न एक युवकले गर्ने संघर्षको कथा भन्ने सिनेमामा अभिनेता प्रदीप खड्काले शिर्ष भूमिका निर्वाह गरेका छन् ।सिनेमामा प्रदीपसंगै दीया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाहीलगायतका कलाकारको अभिनय छ ।राजेश श्रेष्ठको छायांकन रहेको सिनेमामा सुवास भुषाल/दीपक शर्मा/ताराप्रकाश लिम्बु/एलिस कार्कीको संगीत र जीवन थापाको सम्पादन छ ।यो सिनेमालाई महेन्द्र अधिकारीले निर्माण गरेका हुन् ।