आज बिहानैदेखि वर्षा,सतर्कता अपनाउन अनुरोध


काठमाडौं, भदौ १२-काठमाडौंसहित हाल देशैभरिको मौसममा सामान्य देखि पूर्ण बदली रही अधिकांश स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ।

बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशहरूका केही स्थानहरुमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही उत्तरतर्फ रहेकाले बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशहरूका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

आज राती गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूर पश्चिम प्रदेशमा चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ। प्रदेश १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा सोमबार पनि मेघ गर्जन/चट्याङ सहित भारी वर्षाको सम्भावना रहेको छ।

यस्तै मंगलबार प्रदेश १, बागमती प्रदेश, लुम्बिनी, कर्णाली र सुदूर-पश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित भारी वर्षाको सम्भावना रहेको छ।

भारी वर्षाको सम्भावना रहेका स्थानमा पहिरो तथा गेग्रान बहावको जोखिम रहनुको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ।

 

धेरै पढिएको

ताजा समाचार