
काठमाडौं -हिन्दू महिला आज बिहीबार सप्तऋर्षिको पूजा गरी ऋषिपञ्चमी पर्व मनाउँदै छन् ।रजस्वला भएका बखत जानेर अथवा नजानेर भएका गल्ती प्रायश्चित गर्ने उद्देश्यले व्रत बस्ने परम्परा छ । पञ्चमीका दिन कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ तथा ऋषि पत्नी अरुन्धतीको पूजा गर्नाले दोष नाश भई सुख शान्ति प्राप्त हुने विश्वास छ ।
३६५ दतिवनका डाँठ टोकेर खोलामा बगाइन्छ
यसदिन बसिने व्रतले आनन्द, शारीरिक¬ सौन्दर्य, सन्ततिलाभ, सौभाग्यप्राप्ति तथा दाम्पत्य जीवन पनि सुखी हुने धार्मिक विश्वास छ । खासगरी, महिनावारी सुरु भएदेखि अन्त्य नभएसम्मका महिलाले व्रत बस्नु उपयुक्त हुने धर्मशास्त्रमा उल्लेख छ ।
हरितालिका तिजको पर्सिपल्ट अर्थात् भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषि पञ्चमीमा बिहानै नदी, तलाउ, कुण्ड, कुवा, पानीको मुहानमा गएर नुहाइधुवाइ गर्ने गर्छन् ।
‘नुहाउने क्रममा ३ सय ६५ वटा दतिवनका डाँठ टोकेर खोलामा बगाउने चलन छ,’ धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतम भन्छन्, ‘नुहाउँदा माटो र गोबरले शरीरका सबै अंग शुद्ध गरिन्छ भने चाल्नीमा गनिएका तिलचामल र जौं राखेर माथिबाट पानी खन्याई छानिएको पानीले नुहाउने गरिन्छ ।’
पूजाका क्रममा सातै ऋषिको प्रतिमालाई पञ्चामृतमा स्नान गराई, ती प्रतिमामाथि चन्दनको लेप, कपुर लगाउनुपर्छ । पुष्प, सुगन्धित पदार्थ, धूप, दीप, श्वेत वस्त्र, यज्ञोपवीत, नैवेद्यादिद्वारा पूजा गर्नुपर्ने नेपाल पञ्चांग निर्णयक समिति पूर्वअध्यक्षसमेत रहेका गौतम बताउँछन् ।
उनका अनुसार अन्त्यमा मन्त्रसहित अर्घ दिनुपर्छ । पूर्वजन्ममा वृत्रासुर बधको परिणामले इन्द्रलाई ब्रह्महत्याको पाप लागेको थियो । देवराज इन्द्रलाई ब्रह्महत्याबाट लागेको पाप मुक्त गर्न चार भाग लगाई एक भाग नारीको मासिक रक्तमा प्रवेश गराएकाले त्यसैका कारण उनीहरू चौथो दिनसम्म अशुद्ध रहन्छन् । त्यससमय ब्रह्माजीले इन्द्रमाथि कृपा गर्दै त्यस पापलाई चार स्थानमा बाँडे ।
पहिलो अग्निमा ९धुँवामिश्रत प्रथम ज्वालामा०, दोस्रो नदीमा ९वर्षाकालको गाँज र मैलोयुक्त पानी०, तेस्रो पर्वतमा ९जहाँ लस्सेदार वृक्ष उत्पन्न हुन्छ० र चौथो स्त्रीमा ९रजस्वला अर्थात् मासिक धर्ममा० गरी चार भागमा बाँडेका थिए ।
मासिक श्राव ब्रह्महत्यासरह भएकाले यसबाट मुक्ति पाउन ऋषि पञ्चमीको व्रत बस्नुपर्ने ब्रह्माण्ड पुराणमा उल्लेख छ । पञ्चमीका दिन महिला रजस्वला भएको चार दिनका सरह हुने कथन छ । यसै रजस्वलाबाट नारीमा सन्तानोत्पादन गर्न सक्ने शक्ति उत्पन्न हुन्छ । सम्पूर्ण मानवीय चक्र सुरुवात नै नारीको मासिक रजस्वलाबाट सुरु भएको मानिन्छ ।