काठमाडौं – काठमाडौं महानगरपालिकाले गत वैशाखदेखि थुप्रिएको फोहोरको व्यवस्थापन चार महिनापछि सम्पन्न गरेको छ ।
काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले करिब चार महिनादेखि महानगरको सडकपेटी, चोक र गल्लीमा थुप्रिएको फोहोर व्यवस्थापन सम्पन्न भएको दाबी गर्नुभयो । वैशाख १२ देखि नै फोहोर व्यवस्थापनमा अवरोध हुँदै आएको थियो ।
उहाँले भन्नुभयो, “विभिन्न कारणवश थुप्रिएको फोहोर सङ्कलन गरी बन्चरेडाँडास्थित ल्यान्डफिल साइटमा विसर्जन गरिएको छ । फोहोरको दुर्गन्धका कारण हिँड्नै नसक्ने सडकपेटी, चोक र गल्ली सफा भएका छन् ।” भदौ पहिलो साता काठमाडौं, धादिङ र नुवाकोटका प्रमुख जिल्ला अधिकारी, सिसडोल र बन्चरेडाँडाका बासिन्दाबीच भएको चारबुँदे सहमतिपछि फोहोर व्यवस्थापन कार्य हुन थालेको हो ।
काठमाडौं महानगर प्रमुख बालेन्द्र साहका सचिवालय सदस्य सुनिल लम्सालले थुप्रिएको फोहोरको व्यवस्थापन सम्पन्न भएसँगै समयमा फोहोर व्यवस्थापन नगर्ने कम्पनी र सडक, चोक र गल्लीमा फोहोर फ्याँक्ने घरधनीलाई कारबाही गरिने बताउनुभयो । उहाँले फोहोर व्यवस्थापनको जिम्मा लिएका कम्पनीलाई २५ हजारदेखि एक लाख रुपियाँसम्म जरिवाना गरिने बताउनुभयो ।
यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।