रियल म्याड्रिडका पुर्व खेलाडी बार्सिलोनामा अनुबन्धित


एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले स्पेनिस क्लब रियल म्याड्रिडका पुर्व फुलब्याक मार्काेस अलन्सोलाई निशुल्क ट्रान्सफरमा क्लबमा अनुबन्ध गरेको छ ।बार्सिलोनाले अलन्सोलाई इंग्लिस क्लब चेल्सीबाट फ्रि ट्रान्सफरमा एक सिजनको लागि क्लबमा आबद्ध गर्दा उनी १२ वर्षपछि स्पेनिस क्लबमा फर्र्किएको हो ।

चेल्सीमा उनको सम्झौता सकिएपछि बार्सिलोनाले लामो प्रयासपछि ३१ वर्षीय अलन्सोलाई क्लबमा भित्र्याएको हो । बार्सिलोनाले यसअघि पनि अलन्सो अनुबन्ध गर्न लामो समयदेखि तयारी गरेको थियो ।

अब उनले एलेसान्द्रो बाल्डे र जोर्डी अल्वासँग टोलीमा पर्नको लासग कडा प्रतिस्पर्धा गर्नुपर्नेछ । रियल म्याड्रिडका पुर्व खेलाडीले शनिबार सेभियासँग प्रतिस्पर्धा गर्नुअघि नै टोलीसँगको प्रशिक्षणमा सामेल भइसकेका छन् ।

अलन्सो यसै साता बार्सिलोना आइपुग्ने दोस्रो स्पेनिस फुलब्याक बनेका छन् । बार्सिलोना इंग्लिस क्लब आर्सनलबाट हेक्टर बर्लिनलाई अनुबन्ध गरिसकेको छ ।

अलन्सोले चेल्सीमा ६ सिजन बिताउँदा ५ उपाधि जितेका छन् । रियल म्याड्रिडको एकेडेमीमा हुर्किएका अलन्सोले रियलको सिनियर टोलीमा पर्न असफल भएपछि उनी इंग्लिस च्याम्पियनसिप क्लब बोल्टन वान्डरर्समा पुगेका थिए । उनले रियलको सिनियर टोलीबाट एक खेलमा मात्रै अवसर पाए ।

त्यसपछि उनी सन् २०१३ मा इटालियन क्लब फियोरेन्टिना पुगेका थिए । त्यही सिजन उनले एक सिजन सन्डरल्यान्डमा लोनमा बिताए । त्यसपछि उनी २०१६–१७ को सिजनमा चेल्सीमा अनुबन्ध भएका थिए ।

 

धेरै पढिएको

ताजा समाचार