
एजेन्सी – च्याम्पियन्स लिग फुटबलको समूह चरण अन्तर्गतको खेलमा जर्मन महारथी बायर्न म्युनिखले जित निकालेको छ । मंगलबार मध्यरातमा सम्पन्न खेलमा बायर्नले क्याटलान क्लब बार्सिलोनालाई २–० गोलले पराजित गरेको हो । म्युनिखको मैदान एलियान्ज अरिनामा भएको खेलमा दुबै गोल दोस्रो हाफमा सम्भव भएको थियो । दोस्रो हाफको सुरुवातमा चार मिनेटको अन्तरमा बायर्नले दुई गोल गरेको हो ।
५० औं मिनेटमा लुकास हर्नान्डेजले र ५४ औं मिनेटमा लेरोई सानेले गोल गर्दै बायर्नलाई जित दिलाए । खेलमा पकड जमाएको बार्सिलोनाले पटक–पटक गोल गर्ने अवसर प्राप्त गरेपनि त्यस अवसरलाई सदुपयोग गर्न सकेन ।
जितसँगै समूह ‘सी’ मा बायर्न लगातार दोस्रो जित निकाल्दै ६ अंकसहित शीर्षस्थानमा छ । बार्सिलोना भने ३ अंक सहित दोस्रो स्थानमा छ । यसै समूहको अर्को खेलमा इटालियन क्लब इन्टर मिलानले चेक क्लब भिक्टोरिया प्लेजनलाई पराजित गर्दै ३ अंक जोडेको छ