शिवराजमा फाेहाेर : नगरले फाेहाेर व्यवस्थापनमा चाँसाे नदिँदा शहर नै दुर्गन्धित


 

राम अवतार चाैधरी
चन्द्राैटा(कपिलवस्तु), २७ असाेज ।

चन्द्राैटा बजारमा फाेहाेरमैलाकाे व्यवस्थापन नहुँदा दुर्गन्धित बन्दै गएको छ । जिल्लाकाे मुख्य व्यापारिक केन्द्रकाे रुपमा रहेकाे यस बजारबाट दिनहुँ पसलबाट निस्कने जैविक र अजैविक फाेहाेर पदार्थले सडककाे छेउछेउमा थुप्रो लागेका छन् । सडकमा प्लाष्टिकजन्य, तरकारी र फलफूलकाे बाेक्रा लगायत पदार्थले बजार दुर्गन्धित बन्दै गएको हाे ।

दैनिक जसाे निस्किने फाेहाेरले सडककाे नालीसमेत पुरिएका छन् । नियमित रुपमा बजारकाे फाेहाेरकाे सरसफाइ नहुँदा र ढल निकासकाे उचित व्यवस्थापन नहुँदा वातावरण प्रदुषित हुँद‌ै गएकाे छ । यता छाडा पशु चाैपायाकाे मलमुत्रले समेत सडक झन् फाेहाेर देखिन्छ । मुख्य चाेक निरज मेडिकलदेखि दक्षिण-पश्चिम समिम कम्प्लेक्स सम्म सडकछेउ र नालीमा महिनाैँदेखि फाेहाेर नउठेको पाइएकाे छ ।

सडक फाेहाेरसँगै गंगा कम्पलेक्सदेखि पञ्चकन्या सुपर मार्केटसम्म पुरै नाली नै फाेहाेरले पुरिएको छ । त्यसैगरी बजार क्षेत्रका अन्य नाली समेत फाेहाेरले पुरिदैँ गएकाे छ । गंगा र फाफुरी कम्प्लेक्स अगाडी जहिले पनि फाेहाेरकाे थुप्रो देखिने गरेकाे छ ।

सरसफाइकाे ठेक्का पाएका शिवराज सरसफाइ फाेर्सका ठेकेदारले फाेहाेर व्यवस्थापनमा चरम लापरवाही गरेकाे स्थानीय अब्दुल रहमानले बताए । ठेकेदार पक्षले पसल अनुसार ५० देखि १ सय ५० रुपैयाँ शुल्क लिए पनि समयमा सरसफाइ नभएकाे उनले गुनासो गरे । शिवराज नगरपालिकाले पनि यस विषयमा खासै चाँसाे नदेखाएकाे रहमानको आराेप छ ।

यस्तै अर्को स्थानीय मिनहाज आलम खाँ (पप्पु) ले शिवराज नगरपालिका अन्तर्गत पर्ने चन्द्राैटा बजार जिल्लाकै मुख्य व्यापारिक केन्द्रकाे रुपमा रहेकाे पछिल्लो समय अव्यवस्थित हुँदै गएकाे बताए । फाेहाेर व्यवस्थापनका लागि व्यवसायी लगायत स्थानीयले नगरपालिकासँग अनुरोधसमेत गरेकाे उनकाे भनाइ छ । १९-२० जनाले पैसा दिने तर एक जनाले पैसा नतिरे ठेकदारले पक्षले फाेहर न‌ै नउठाउने गरेकाे खाँले दावी गरे ।

फाेेहाेरकाे गाडी दैनिक बजारमा राउन्ड लगाए पनि सबैतिर नपुगेकाे कारणले फाेहाेर व्यवस्थापनमा जटिलता थपिएको खाँले बताए । उनले भने:”नगरबासीकाे मनपरी ढंगले निर्माण हुँदै गएकाे संरचनाले आगामी दिनमा ढल निकास लगायतकाे समस्या देखिनु निश्चित छ ।”

यता नगरपालिकाका प्रमुख अजय थापाले फाेहाेर व्यवस्थापनका लागि जनप्रतिनिधि, व्यापारी र सामाजिक अभियान्ता लगायत सराेकारवालासँग निरन्तर पहल गरिरहेकाे बताए । ठेकेदारलाई समयमै फाेहाेर उठाउन निर्देशनसमेत दिएको उनकाे भनाइ छ ।

फाेहाेरमैलालाई उचित व्यवस्थापनका लागि सबै व्यापारीलाई डस्टबिन वितरण गर्ने याेजना रहेकाे थापाले बताए । यसरी सबैले डस्टबिनमा फाेहाेर संकलन गरेपछि व्यवस्थापनमा सहज सहजता हुने उनले जनाए ।

धेरै पढिएको

ताजा समाचार