कपिलवस्तुमा सशस्त्र प्रहरी सवार ट्रक दुर्घटनाः दुर्घटनाग्रस्त ट्रकमा मदिरा भेटिएको स्थानीयको आरोप


 

 

कपिलवस्तुमा शुक्रबार साँझ भएको सशस्त्र प्रहरी सवार दुर्घटनाग्रस्त ट्रकमा मदिरा भेटिएको स्थानीयले गम्भीर आरोप लगाएका छन् ।

उक्त दुर्घटनामा ट्रक चालक रमेश चौधरी र साइकलमा सवार स्थानीय अमर तङनामीको मृत्यु भएको छ ।जिल्लाको बाणगंगा नगरपालिका वडा नं. ३ सिउटीमा सशस्त्र प्रहरी सवार ट्रक दुर्घटना भएको हो ।

तिव्र गतिमा गुडेको ट्रकले साइकलमा सवार व्यक्तिलाई ठक्कर दिदैं दुर्घटनामा परेको स्थानीयबासी बुद्धिप्रसाद पाण्डेले मायादेवी अनलाइनलाई बताए ।

दुर्घटनाबाट दुई जनाको निधन हुनुको साथै आधा दर्जन बढी सशस्त्र प्रहरी घाइते भएका छन् । घाइते मध्ये तीन जनाको अवस्था गम्भीर रहेको बुझिएको छ । ती घाइतेलाई शुक्रबार साँझ नै थप उपचारका लागि बुटवल रिफर गरिएको छ ।

चार जनाको कपिलवस्तु सामुदायिक अस्पताल चारनम्बरमा उपचार भइरहेको छ ।चारनम्बरबाट तौलिहवा तर्फ जादै गरेको सशस्त्र प्रहरीको ट्रक किन अनियन्त्रित भएर दुर्घटनामा भयो थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।

सशस्त्रको गाडी गस्तिको क्रममा हिडेको स्रोतले जनाएको छ ।बस्ती माझ दुर्घटनामा भएको ट्रक भित्र मदिरा भेटिएको स्थानीयले बताएका छन् । आक्रोशित स्थानीयबासीले मदिराकै कारण मानविय क्षति भएको भन्दै घटनाको निष्पक्ष छानविनको माग गरेका छन् ।

ट्रक दुर्घटना लगत्तै स्थानीयबासी र प्रहरीले घाइतेको उद्धार गरेका थिए । लगत्तै स्थानीयले दुर्घटनाग्रस्त ट्रक भित्र मदिराका बोतल भेटिए पछि शंका गरेका हुन् ।

यता सशस्त्र प्रहरी बेश क्याम्प पिपराले आफूहरुले दुखत घटनाको सामना गर्नुपरेकाले घाइतेको उपचार तर्फ बढी ध्यान दिइएको बताएको छ । सवारी दुर्घटना के कति कारणले भएको हो सम्बन्धित निकायले अनुसन्धान गर्ने भन्दै स्थानीयबासीलाई संयम हुन सशस्त्र प्रहरीले आग्रह गरेको छ । दुर्घटना कसैले चाहेर नहुने भन्दै हल्लाका पछाडी नलाग्न पनि सशस्त्र प्रहरीको अनुरोध छ ।

धेरै पढिएको

ताजा समाचार