
गुल्मी – जिल्ला निर्वाचन कार्यालय गुल्मीको आयोजनामा गुल्मीमा नमुना मतदान सम्पन्न भएको छ ।जिल्लाको रेसुंगा नगरपालिका र मुसिकोट नगरपालिकामा आज नमुना मतदान सम्पन्न भएको हो ।
निर्वाचन कार्यालयले आउँदो मंसिर ४ गते गर्नेे प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा बदर मत कम गर्ने उद्देश्यले शनिवार नमुना मतदान गरेको हो ।रेसुंगा नगरपालिका १४ को पराल्मी र मुसिकोट नगरपालिका ७ को वामीमा नमुना मतदान गरिएको जिल्ला निर्वाचन कार्यालय गुल्मीकी निर्वाचन अधिकारी मायाँ कुँवरले जानकारी दिनु भयो ।
रेसुंगाको पराल्मीमा ८० वर्षीय तुल्सीराम पोख्रेल र मुसिकोटमा ७५ वर्षीय धनिश्वर घिमिरेले पहिलो मत खसाल्नु भएको थियो ।नमुना मतदानमा पराल्मीमा २५ मत र मुसिकोटमा ६५ मत खसेको थियो । खसेको मतमा १९ मत बदर भएको कुँवरले बताउनु भयो ।
मतदान प्रकृयामा स्थानीय सबै उमेर समूहका राजनीतिक दल, नागरिक समाज विद्यार्थी र क्लबका प्रतिनिधिले मतदान गरेका थिए ।नमुना मतदान कार्यक्रममा मुख्य निर्वाचन अधिकृत बसन्तराज पौडेल, प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल, निर्वाचन अधिकृत माया कुँवर, सुरक्षा निकायका प्रमुख तथा स्थानीय तहका प्रमुख एवम् प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
जिल्लामा कुल दुई लाख २३ हजार छ सय १५ मतदाता रहेका छन् । दुई नगरपालिका र १० गाउँपालिका रहेको जिल्लामा कुल एक सय ४२ मतदान स्थल रहेका छन् भने दुई सय ७८ मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ ।