शिवराज नगरपालिकाले कार्यपालिका बैठक प्रत्यक्ष प्रशारण गरेको छ । काठमाडौं महानगरपालिका र धरान उपमहानगरपालिकाको अभ्यासलाई पछ्यउँदै शिवराज नगरपालिकाले पनि कार्यपालिकाको प्रत्यक्ष प्रशारणको सुरुवात गरेको हो । कार्यपालिकाको ५ औ बैठक प्रत्यक्ष प्रशारण गरिएको सदस्य सचिव राकेश पाण्डेले जानकारी दिए । आइतबार कार्यपालिकाको बैठक दिउँसो २ बजे देखि प्रत्यक्ष प्रशारण भएको थियो । शिवराज नगरपालिकामा मेयर अजय थापाले निर्वाचित भइ आइसकेपछि कार्यपालिका बैठक प्रत्यक्ष प्रशारण गरिने बताएका थिए ।
५ औँ कार्यपालिका बैठकले विभिन्न एजेन्डा स्विकृत गरेको छ भने महत्वपूर्ण एजेन्डा बहुमतले अस्विकृत गरेको छ ।
आइतबारको कार्यपालिका बैठकले धानखोला लगाएत टाढाबाट आउने विद्यार्थीलाई यातायात सेवा उपलब्ध गराउने प्रस्ताव भने बहुमतले अस्विकृत गर्यो । धानखोला लगाएतका ठाँउबाट विद्यार्थीलाई विद्यालय आउन असहज भएको भन्दै मेयर थापाले त्यस्ता विद्यार्थीलाई यातायात सेवा उपलब्ध गराउने प्रस्ताव कार्यपालिका बैठकमा लैजानु भएको थियो ।
तर उक्त प्रस्ताव कार्यपालिकाबाटै बहुमतले अस्विकृत भएको हो । धानखोलाबाट ६०–७० जना विद्यार्थी जागृती प्रावि बनकसाबासा, रेन्जर पोष्टको सरस्वती निमावी र नेपाल आर्दश माविमा अध्ययनका लागि आउने गर्दछन् । उनिहरुलाई यातायातका कारण विद्यालयमा आउन समस्या हुने गरेको छ । वर्खाको समयमा विभिन्न जोखिम मोलेर उनिहरु विद्यालय आउने गर्दछन् । यस्तै योजना कार्यन्वयन पुस्तक सम्बन्धको प्रस्तावपनि अस्विकृत भएको छ ।
आइतबारको कार्यपालिका बैठकले प्रारम्भिक वातावरणीय प्रतिवेदन आइइइ कार्यसूचि सम्बन्धी प्रस्ताव स्विकृत गरेको छ भने राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा छनौट भएका विद्यार्थीलाई थप अनुदान उपलब्ध गराउने, कार्यतालिका सम्बन्धमा, बजेट माग गर्ने र कित्ताकाट बारे प्रस्ताव स्विकृत गरेको छ ।