लुम्बिनीमा दलहरूले पत्याएका नयाँ अनुहार


 

लुम्बिनी – प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आउन केही दिन बाँकी छ । निर्वाचनमा मुख्य मानिएका दलले पुरानै अनुहारलाई दोहोर्‍याइरहेका छन् भने केही नयाँलाई पनि मौका दिएका छन् ।

 

कतिपय क्षेत्रमा यसपटक लामो समय एउटै पार्टीमा सँगै राजनीति गरेका एमाले र एकीकृत समाजवादीका सहयात्री भिड्दै छन् भने कतिपय स्थानमा उम्मेदवारहरूले अन्तिम पटक भोट मागिरहेका छन् । लुम्बिनी प्रदेशको यस पटकको निर्वाचन रोचक हुने निश्चित छ ।

 

नेपाली कांग्रेस बाँकेका सुदीपनरसिंह राणाले २०४९ सालदेखि नेविसंघ हुँदै राजनीतिक यात्रा गरेका थिए । उनी कांग्रेसको १२ औं, १३ औं र १४ औं महाधिवेशनको प्रतिनिधि समेत भएका थिए । यसपालि उनले पहिलो पटक लड्ने अवसर पाएका छन् । उनी बाँकेको निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा उठेका छन् ।

नयाँ अनुहारलाई विचार गर्ने आश्वासन मतदाताले दिएकाले आफूले ढुक्क भएर चुनाव प्रसारप्रसार गरिरहेको उनले बताए । कांग्रेसले प्रदेश सभामा पनि केही नयाँ अनुहारलाई टिकट दिएको छ । नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति भुवन श्रेष्ठ गुल्मी जिल्ला क्षेत्र नं. २ (१) बाट उम्मेदवार बनेका छन् । उनले २०३८ सालदेखि कांग्रेसको सक्रिय राजनीति गरेकामा यसपटक आफू सांसद पदका लागि उम्मेदवार बनेको बताए । उनले आफू गठबन्धनको उम्मेदवार भएको र यो उम्मेदवारी प्रतिगमनविरुद्धको कदम भएको बताए । हालसम्म प्राप्त राजनितिक उपलब्धि संरक्षण गर्न आफू भिड्ने उनले बताए । उनीसँग नेकपा एमालेका डिल्लीराज भुषालले प्रतिस्पर्धा गर्दैछन् ।

दीर्घबहादुर केसी नेपाली कांग्रेसकै रुपन्देही क्षेत्र नं. २ (१) बाट खेल क्षेत्रको प्रतिनिधित्व गर्दै राजनीतिमा उदाएका हुन् । उनले राजनीतिलाई खेल जस्तै निष्पक्ष तरिकाले खेल्न आफूले आगामी निर्वाचनमा उम्मेदवारी दिएको बताए । हरेक क्षेत्रको विकास गर्न राजनीति नै चाहिने देखेपछि उपेक्षित खेल क्षेत्रको विकासका लागि आफूले राजनीतिक यात्रा थालेको उनले बताए ।

 

२०४३ सालमा गोर्खा ब्वाइज क्लबबाट फुटबल खेल्न थालेका उनी जिल्ला फुटबल संघको सदस्य, कोषाध्यक्ष हुँदै २०७० सालमा रुपन्देही फुटबल संघको अध्यक्ष भएका थिए । ०७५ सालमा केन्द्रीय सदस्य भएँ,’ उनले भने, ‘०७५ सालमा नेपाल ओलम्पिक कमिटीको सदस्य र अहिले उपाध्यक्ष भएको छु ।’ १२ औं महाधिवेशनबाट राजनीतिमा सक्रिय भएका केसीले १४ औं महाधिवेशनमा प्रदेश सदस्यता प्राप्त गरेका थिए । रुपन्देही जिल्ला र लुम्बिनी प्रदेशमा खेलकुद पर्यटनको प्रचुर सम्भावना रहेको केसी बताउँछन् । उनले यस क्षेत्रमा खेलका पूर्वाधार बनाउन, बहुउद्देश्यीय रंगशाला निर्माण गरी खेल पर्यटक भित्र्याउन सक्नेगरी अन्तर्राष्ट्रिय खेलकुद गर्न सके भारतीयलगायत अन्य देशका खेलाडी र पर्यटक मार्फत देश विकासमा टेवा पुर्‍याउने अपेक्षा रहेको बताए ।

रुपन्देही जिल्लाको क्षेत्र नं. ५ मा नेकपा एमालेले तिलोत्तमा नगरपालिकाका पुर्व प्रमुख वासुदेव घिमिरेलाई टिकट दिएको छ । कृषि साथै बैंकिङ क्षेत्र तथा संघसंस्थामा आबद्ध रही विदेशी भूमिमा समेत केही वर्ष काम गरी सकेका छन् । २०४४ मा वाणिज्य क्याम्पस बुटवलमा अध्ययन गर्दा उनी अनेरास्ववियूको सम्पर्कमा आए । उनले पञ्चायतविरुद्धको अभियानमा लागेको बताए । २०४८ सालमा नेकपा एमालेको सदस्यता प्राप्त गरेका उनी बीचमा २ वर्ष सीप सिक्न र पैसा कमाउन विदेश गई ०५१ सम्म उतै रहे । उताबाट फर्केपश्चात गाउँ कमिटीको वडामा ३ कार्यकाल सचिव रहे । युवा संघको सदस्य भई जिल्ला कमिटीमा पनि ३ कार्यकाल सदस्य भई काम गरे । साथै युवा कमिटी जिल्लाको अध्यक्ष पनि बने । हाल उनी प्रदेश कमिटी लुम्बिनीको सदस्य र पार्टीको केन्द्रमा स्थानीय तह विभाग सदस्य हुन् ।

पार्टीले आफ्नो कामको मूल्यांकन गरी तिलोत्तमा नगरपालिकाको मेयरको रुपमा लड्न अवसर दिएकामा आफुले नमूना नगर बनाएपछि त्यही फल स्वरुप प्रतिनिधि सभामा उठ्ने मौका पाएको उनले बताए । पार्टीमा होस् वा संसदीय यात्रामा पार्टी र जनताले दिएको जिम्मेवारी पूरा गर्ने उनले बताए ।

पाल्पामा नेकपा एमालेले ठाकुर गैरेलाई उठाएको छ । उनी माध्यामिक तहको अध्ययन गर्दादेखि नै राजनीतिमा सक्रिय थिए । २०५१ सालमा अनेरास्ववियुको पाल्पा जिल्ला अध्यक्ष समेत भएर काम गरेका उनी २०६३ सालमा अनेरास्ववियूको केन्द्रीय अध्यक्ष भए । उनले २०६६ देखि नेकपा एमालेको केन्द्रीय कमिटीमा चुनिएर काम गरेका छन् । अहिले उनी पोलिटब्युरो सदस्य छन् ।

गैरे तत्कालीन राजकुमार पारस शाहविरुद्ध ५ लाख २३ हजार हस्ताक्षर संकलन गरी राजा वीरेन्द्रलाई ज्ञापन पत्र बुझाउने अभियानमा संलग्न थिए । २०६२/०६३ को आन्दोलनमा आफनो भुमिका महत्वपुर्ण रहेको उनले बताए ।

भारतीय नाकाबन्दी विरुद्ध आफू उठेको, एनसेलको कर छली प्रकरणविरुद्धको आनदोलनमा समेत आफूले महत्त्वपूर्ण भूमिका निभाएको उनले बताए । उनले चुनावका बेला मात्र नभई सदैव जनताका मर्का बुझ्ने बताए ।

जनताले नयाँ अनुहार चाहेकाले आफूले मत पाउने विश्वास उनलाई छ । उनले आफ्नो उमेम्दावरी कम्युनिष्ट फुटाल्न खोज्ने विरुद्ध भएको बताए । भ्रष्टाचारको अन्त्य गर्ने, युवा विद्यार्थीलाई रोजगारी दिने, शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार गर्ने, देश र जनताको सम्वृद्धिको चाहना पूरा गर्नेतर्फ आफू लागिपर्ने गैरेले बताए ।

एमालेकै तर्फबाट दाङ जिल्लाको क्षेत्र नं. २ (१) मा भिड्दैछन् नेता बलिभद्र राना । २०५६ सालमा विद्यार्थी राजनीति थालेका उनले पार्टीको विश्वास डगमगाउन नदिनका लागि आफू उम्मेदवार भएको बताए । मैले जितें भने दाङलाई राजधानी तोकेर बुटवलमै बसिरहेको प्रदेशलाई दाङमै ल्याउने काम गर्ने बताए ।

आफूले ३० वर्षमा निर्माण व्यवसायमा हासिल गरेको अनुभवलाई प्रदेशको विकासमा लगाउने पनि बताए । प्यूठान जिल्लाको क्षेत्र नं. १ (१) मा पाँच दलीय गठबन्धनका उम्मेदवार छन् माओवादी केन्द्रका कृष्णकुमार अधिकारी (प्रकाश) ।

२०४१ सालमा अनेरास्ववियुका क्रान्तिकारीको अध्यक्ष हुँदै सुरु भएको उनको राजनीतिक यात्रा । देश र जनताका लागि ज्यानको बाजी थाप्न सक्न आफूजस्ता उम्मेदवारलाई जनताले विकासका काम गर्न पठाए ढुक्क भई काम गर्ने विश्वास दिलाउन सकेको उनले बताए । जनताको छोरा जनताकै लागि भन्ने नारा आत्मसाथ गरेको छु, उनले भने, देशको सिपाही हुं, जनताले साथ दिए जनताकै साथमा हुन्छु ।

पश्चिम नवलपरासीमा भने प्रदेश सभा सदस्यतर्फ मुख्य दलका नयाँ अनुहार देखिएका छैनन् । पार्टीले टिकट दिएर उम्मेदवारी दर्ता गराएका नयाँ उम्मेदवारले पनि निर्वाचनमा चुनावी तालमेल हुने भएपछि उम्मेदवारी फिर्ता गरेका हुन् ।

 

धेरै पढिएको

ताजा समाचार