एजेन्सी
१९ वर्षमुनिको आइसिसी विश्वकप छनोटमा नेपालले विजयी शुरुवात गरेको छ।
विश्वकप एशिया क्षेत्र छनोटअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले शुक्रबार सिंगापुरमाथि ९६ रनको शानदार जित पाएको हो।
जितका लागि २ सय ६२ रनको विजयी लक्ष्य पछ्याएको सिंगापुर निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६५ रनमै समेटियो। सिंगापुरका आर्यन मोदीले सर्वाधिक ५८ रन जोडे। सिद्धान्त श्रीकान्तले ४४ तथा अर्जुन नागपाल र अभ्युदय छाजेरले १४/१४ रन बनाए पनि अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।
सिंगापुरलाई सस्तैमा समेट्ने क्रममा हेमन्त धामी र सुभाष भण्डारीले २/२ विकेट लिए। विशालविक्रम केसीको नाममा १ विकेट रह्यो।
त्यसअघि युएईको इर्डेन गार्डेन ओभलमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित ओभरमा ७ विकेट गुमाएर २६१ रन बनायो।
नेपालका लागि आकाश त्रिपाठीले सर्वाधिक ७८ रनको योगदान गरे। विशालविक्रम केसीले अविजित ६३ रनको योगदान गर्दा अर्जुन कुमालले ३७ र देव खनालले २१ रन जोडे।
नेपालले फागुन १३ गते कुवेतविरुद्ध प्रतिस्पर्धा गर्नेछ भने फागुन १५ गते हङकङसँग खेल्नेछ।
जारी प्रतियोगितामा प्रतियोगितामा नेपाल, हङकङ, मलेसिया, सिंगापुर, युएई र कुवेत समावेश छन्। सिंगल राउन्ड रोबिनको आधारमा हुने प्रतियोगिता विजेताले सन् २०२४ मा श्रीलंकामा हुने १९ वर्षमुनिको विश्वकप खेल्न पाउनेछ।