नयाँ दिल्लीमा हुने साट्टे पर्यटन मेलामा नेपाल सहभागी


 

काठमाडौँ : भारतको राजधानी नयाँ दिल्लीमा शुरु हुन लागेको साउथ एशियन ट्राभल एन्ड टुरिज्म एक्सचेञ्ज (साट्टे)मा नेपाल पनि सहभागी भएको छ।

यसअघि नेपाल पर्यटन बोर्डले सहभागिता जनाउँदै आएको साट्टेमा यसपटक भने ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान)मा आबद्ध व्यवसायीले सहभागिता जनाएका हुन्।

दिल्लीमा बिहीवार शुरु हुन लागेको साट्टेमा भाग लिन जान लागेका व्यवसायीलाई आज टानले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा बिदाइ गरेको छ।

३ दिनसम्म चल्ने पर्यटन मेलामा टानमा आबद्ध ट्रेकिङ कम्पनी, होटल, ट्राभललगायत २८ कम्पनीले सहभागिता जनाउन लागेको टानका प्रथम उपाध्यक्ष प्रदीप पण्डितले जानकारी दिए।

उपाध्यक्ष पण्डितले नेपालको पर्यटन क्षेत्रको प्रमुख बजार भारत भएकाले भारतमा हुन लागेको पर्यटन मेलामा टानले सहभागिता जनाएको बताए।

टानले दुई हप्तापहिले भारतको मुम्बईमा सञ्चालित आउटवाउन्ड ट्राभल मार्ट (ओटिएम) मेलामा समेत सहभागिता जनाएको थियो।

नेपालको पर्वतीय पर्यटन क्षेत्रमा ४५ वर्षदेखि क्रियाशील टानमा हाल दुई हजारभन्दा बढी पर्यटन व्यवसायी आबद्ध रहेका छन्।

 

धेरै पढिएको

ताजा समाचार