बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ:क्यानले विश्वकप खेल्न पठाउने

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले बलात्कारको मुद्दामा सफाइ पाएका छन् ।उच्च अदालत, पाटनका न्यायाधीशद्धय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालत, काठमाडौंको फैसला उल्ट्याउदै सन्दीपलाई सफाइ दिएको प्रवक्ता विमल पराजुलीले जानकारी दिए । ‘जिल्ला अदालतले जुन फैसला गरेको थियो, त्यो पूर्ण रुपमा उल्टिएको छ’ उनले भने, ‘सन्दीपले पूर्ण रुपमा सफाइ पाउनुभएको छ ।’

 

जिल्ला अदालतले सन्दिपलाई बलात्कार मुद्दामा दोषी ठहर गरी ८ वर्ष कैद र ५ लाख जरिवाना गर्ने फैसला गरेको थियो । फैसला गर्ने न्यायाधीशहरुको रायकिताबमा जिल्लाको फैसला उल्ट्याउने विषय मात्रै उल्लेख भएको भन्दै प्रवक्ता पराजुलीले सफाइ दिनुको आधार र कारणबारे पूर्णपाठमा मात्रै विस्तृत विवरण खुल्ने बताए ।‘जिल्ला अदालतमा जस्तो फैसलाको संक्षिप्त आदेश भएन, अब यसबारेको विस्तृत विवरण पूर्णपाठ आएपछि मात्रै थाहा होला’, उनले भने ।

 

स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत पाटनले बलात्कार मुद्दामा सन्दीपलाई सफाइ दिएसँगै क्यानले विश्वकप खेल्न पठाउने भएको छ ।स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत पाटनले बलात्कार मुद्दामा सन्दीपलाई सफाइ दिएसँगै क्यानले विश्वकप खेल्न पठाउने भएको छ ।

‘हामी भोलि सम्ममा निर्णय गरेर सन्दीपलाई विश्वकप खेल्न पठाउँछौं । हामी १०० प्रतिशत सन्दीपलाई खेल्न पठाउँछौं । क्यानले आफ्नो खर्च गरेर भए पनि सन्दीपलाई पठाउँछ,’ क्यानका कोषाध्यक्ष पदम खड्काले अनलाइनखबरसँग भने ।

आईसीसीको नियमअनुसार विश्वकपमा २५ मेसम्म कुनै पनि टोलीले खेलाडी परिवर्तन गर्न सक्छ । नेपाली टोली हाल वेष्टइण्डिजमा अभ्यासमा व्यस्त छ । नेपालले सन्दीपलाई पठाउँदा अन्तिम १५ बाट एक खेलाडी भने बाहिर गर्नुपर्छ । कुन खेलाडी बाहिर हुने कप्तान रोहित पौडेल र मुख्य प्रशिक्षक मोन्टी देशाईमा भरपर्ने खड्का बताउँछन् ।

‘१५ को ठाउँमा १६ हुन्छ । सन्दीपको खर्च क्यानले व्यहोर्छ । क्यान सन्दीपलाई पठाउने तयारीमा लागिसक्यो,’ खड्काले भने । आईसीसीको नियमअनुसार १५ खेलाडी मात्रै विश्वकपमा राख्न पाइन्छ । त्यसैले एक खेलाडी विश्वकपबाट बाहिर हुनुपर्छ ।

५ भदौ २०७९ मा सिनामंगलस्थित एक होटलमा राखी बलात्कार गरेको लामिछानेविरुद्ध पीडित (गौशाला २६) ले २१ भदौमा जाहेरी दिएकी थिइन् । बन्द प्रशिक्षणमा रहेका सन्दीपले ताहाचलस्थित हायात प्यालेस होटलबाट निस्केर गौशाला २६ लाई नगरकोट लगेका थिए । त्यहाँबाट फर्किएर सिनामंगलस्थित एक होटलमा बसेका थिए । त्यहीँ बलात्कार गरेको पीडितले बताएकी छन् ।

 

उजुरी पर्दा क्रिकेट खेलका क्रममा विदेशमा रहेका सन्दीप नेपाल नआएपछि प्रहरीले इन्टरपोलमा डिफ्युजन नोटिस जारी गर्‍यो । २० असोजमा नेपाल आएका सन्दीप विमानस्थलबाटै पक्राउ परे, जिल्लाले पुर्पक्षका लागि थुनामा पठायो । तर उच्च अदालत, पाटनले २९ पुसमा २० लाख धरौटीमा छाड्यो ।

त्यसबेला उच्चले विदेश जान रोक लगाएको थियो, तर सर्वोच्च अदालतले उच्चको त्यो बन्देजात्मक व्यवस्था फुकुवा गरेपछि उनले नेपाल बाहिर गएर अन्तराष्ट्रिय क्रिकेट समेत खेले ।

जिल्ला अदालतले दोषी ठहर गर्दै जेल सजाय सुनाएपछि भने सन्दीपले नेपालबाट खेलेनन् । लामो सुनुवाइ प्रक्रिया पूरा गरेपछि जिल्ला अदालतले १३ पुस २०८० मा सन्दीपलाई दोषी ठहर गरेको थियो ।

न्यायाधीश शिशिरराज ढकालको इजलासले पीडितको दाजुले दिएको जाहेरी दर्खास्त, सन्दीप लामिछानेको बयान, विभिन्न व्यक्तिहरुको घटना विवरण कागज, निजहरुको बकपत्र लगायत सीसीटीभी फुटेजबाट सन्दीप दोषी देखिएको निष्कर्ष निकालेको थियो ।

नगरकोट गएकोदेखि सिनामंगलको होटलमा एउटै कोठामा बसेको स्वीकार गरेका सन्दीपले बलात्कार आरोप भने अस्वीकार गरेका थिए । पीडितले आफूमाथि बलात्कार भएको भनेको र त्यो दिन सन्दीपको क्रियाकलाप समेतलाई विचार गर्दा उनी र गौशाला २६ का बीचमा करणी भएको देखिएको भन्दै जिल्ला अदालतले त्यसलाई सहमतिको भन्न नमिल्ने निष्कर्ष निकालेको थियो ।

यद्यपि न्यायाधीश ढकालले पीडितलाई नाबालिका भन्न नमिल्ने राय लेखेका थिए । घटनाका दिन पीडितको उमेर १८ वर्ष पुगिसकेको भन्दै उनले नाबालिका बलात्कार भने स्वीकार गरेन ।

आरोपपत्रमा पीडित १६ वर्षभन्दा माथि, तर १८ वर्षभन्दा मुनिको किशोरी भएकाले १० वर्षदेखि १२ वर्षसम्मको सजाय हुनुपर्ने माग दाबी थियो । न्यायाधीश ढकालले पीडितलाई नाबालिका भन्न नमिल्ने ठहरसहित सन्दीपलाई ८ वर्ष जेल सजाय सुनायो ।

पीडित गौशला २६ लाई ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने समेत आदेश दिएको थियो । त्यसविरुद्ध सन्दीपले हालेको पुनरावेदनमा उच्च अदालतले उनलाई सफाइ दिएको छ ।

 

धेरै पढिएको

ताजा समाचार