कपिलवस्तु ।
कपिलवस्तुको शिवराज नगरपालिका अन्तर्गत रहेको आधारभूत स्वास्थ्य सेवा अस्पताल, चन्द्रौटाको बजेट हिनामिना गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । अस्पतालको आम्दानी बैंकमा जम्मा नगरी नक्कली भौचर खडा गरेर झण्डै ३९ लाख रुपैयाँ हिनामिना गरेको खुलासा भएपछि प्रहरीले अस्पतालका प्रमुख र बैंकका कर्मचारीसहितको गिरोहलाई नियन्त्रणमा लिएको हो ।
आर्थिक वर्ष २०८१/०८२ मा अस्पतालको सेवा शुल्क र फार्मेसीबाट औषधि बिक्रीबापत संकलन भएको ३८ लाख १९ हजार ७ सय ७० रुपैयाँ बैंकमा जम्मा गर्नुपर्ने थियो । तर, कर्मचारीहरूको मिलेमतोमा १२९ वटा नक्कली भौचर बनाएर फाइलमा राखियो, जबकि सो रकम बैंकको खातामा पुगेकै थिएन ।
लेखा परीक्षण (Audit) का क्रममा बैंक भौचरहरू फाइलमा देखिए पनि बैंकको रेकर्डमा पैसा नभेटिएपछि यो ठूलो घोटाला बाहिर आएको हो । अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष एवं वडा नं. ५ का वडा अध्यक्ष नेत्र प्रसाद बेल्बासेले ठगी र आपराधिक विश्वासघात सम्बन्धी जाहेरी दिएपछि जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले अनुसन्धान सुरु गरेको थियो ।
प्रहरीले संगठित रुपमा ठगी गरेको आरोपमा चुडामणी भट्टराई स्वास्थ्य शाखा प्रमुख (दाङ्ग), शिवराज नगरपालिका, डा. अमित पाण्डेय मेडिकल सुपरिटेन्डेन्ट, चन्द्रौटा अस्पताल (कपिलवस्तु निवासी), कमल प्रसाद भण्डारी क्यासियर, नेपाल बैंक लिमिटेड, चन्द्रौटा शाखा (गुल्मी निवासी), रुक्सना खातुन फार्मेसी सहायक, चन्द्रौटा अस्पताल (कपिलवस्तु निवासी),विक्रम के.सी. कार्यालय सहयोगी, नेपाल बैंक (हाल मणिग्राम शाखामा कार्यरत) लाई बैशाष २८ गते नियन्त्रणमा लिई अनुसन्धान शुरू गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रिपेन्द्र कुमार सिंहका अनुसार, पक्राउ परेका पाँचै जनामाथि ‘ठगी तथा आपराधिक विश्वासघात’ मुद्दामा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी विस्तृत अनुसन्धान भइरहेको छ ।
सरकारी अस्पतालको रकम बैंकमै नपुर्याई बीचमै गायव पार्ने यो संगठित जालोले स्थानीय प्रशासन र नागरिकहरूलाई स्तब्ध बनाएको छ । अनुसन्धानका क्रममा थप तथ्यहरू खुल्ने प्रहरीले जनाएको छ ।









