शिवराज नगरपालिका वडा नं. ५ मा रहेको राष्ट्रिय मा बि मा अध्ययनरत कक्षा ११ र १२ मा अध्ययनरत छात्राहरूका लागि सञ्चालन गरिएको ४५ दिने आत्मरक्षा सम्बन्धी तालिम कार्यक्रमको समापन सत्र भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा वडा नं. ५ का वडा अध्यक्ष नेत्र प्रसाद बेल्बासे को अध्यक्षता रहेको थियो।
समापन कार्यक्रममा पूर्ण बहादुर विश्वकर्मा, शिक्षा शाखा प्रमुख, प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो भने सामाजिक डिभिजन विकास कार्यालयका प्रमुख विशेष अतिथिका रूपमा सहभागी हुनु भएको थियो। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, शिक्षक, अभिभावक तथा सरोकारवालाहरूको समेत उपस्थिति रहेको थियो।
कार्यक्रमको सञ्चालन शिक्षक गोपाल भाट ले गर्नुभएको थियो। कार्यक्रममा सहभागी छात्राहरूले ४५ दिनसम्म आत्मरक्षा सम्बन्धी विभिन्न व्यावहारिक तथा सैद्धान्तिक प्रशिक्षण प्राप्त गरेका थिए। तालिममा व्यक्तिगत सुरक्षा, आपत्कालीन अवस्थामा अपनाउनुपर्ने उपाय, मानसिक आत्मविश्वास अभिवृद्धि तथा शारीरिक प्रतिरक्षा सम्बन्धी सीप सिकाइएको आयोजकले जनाएको छ।
समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि पूर्ण बहादुर विश्वकर्माले छात्राहरूलाई आत्मनिर्भर र आत्मविश्वासी बनाउन यस्ता कार्यक्रम प्रभावकारी हुने बताउनुभयो। वडा अध्यक्ष नेत्र प्रसाद बेल्बासेले महिला तथा किशोरीहरूको सुरक्षाका लागि आगामी दिनमा पनि यस्ता सचेतनामूलक तथा सीपमूलक कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा कुल २५ जना छात्राहरूको सहभागिता रहेको थियो। सहभागी छात्राहरूलाई प्रमाणपत्र वितरण गर्नुका साथै आत्मरक्षा सम्बन्धी प्रस्तुति समेत प्रदर्शन गरिएको थियो। कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको आयोजकले जनाएको छ।









