कपिलवस्तुको शिवराज नगरपालिका–११ स्थित दुर्गेश नन्दनी आधारभूत विद्यालयको मुहार अब फेरिने भएको छ। विद्यार्थीहरूको सहजताका लागि यहाँ ३६ लाखभन्दा बढीको लगानीमा नयाँ दुई कोठे भवन बन्ने भएको हो।
प्रतिनिधि सभा सदस्य अभिषेक प्रताप शाहले एक समारोहका बीच उक्त भवनको शिलान्यास गर्नुभएको छ। शिलान्यास गर्दै सांसद शाहले विगतका नीतिहरूको समीक्षा गर्नुभयो। “हिमाल, पहाड र तराईको भूगोल फरक छ, तर एउटै प्रकृतिको भवन बनाउने राज्यको नीतिका कारण धेरै विद्यालयले सास्ती भोगेका छन्,” उहाँले भन्नुभयो, “अब भूगोल र आवश्यकता सुहाउँदो भवन निर्माणमा जोड दिनुपर्छ।”
वडा अध्यक्ष रामेश्वर बर्माका अनुसार यो भवन निर्माणका लागि सिद्धार्थ सामाजिक विकास केन्द्रले ३१ लाख ६ हजार १ सय र वडा कार्यालयले ५ लाख रुपैयाँ लगानी गरेको छ । कार्यक्रममा नगर प्रमुख अजय थापाले माध्यमिक तहसम्मको शिक्षालाई निःशुल्क बनाउने नगरपालिकाको अभियानमा सिद्धार्थ सामाजिक केन्द्रले दिएको साथको प्रशंसा गर्नुभयो।
कार्यक्रममा गैर सरकारी संस्थाले गरेको एक प्रयास मात्र हो । शिक्षा जस्तो आधारभुत विषयमा स्थानिय सरकार नै मुख्य जवाफदेहिता रहने केन्द्रको अध्यक्ष त्रिलोचन घिमिरे र पुर्व अध्यक्ष गुणनिधि भुषालले जोडदिनुभयो ।
विधालय ब्यवस्थापन समितिको अध्यक्ष शिवगोविन्द कुर्मिको अध्यक्षतामा कार्यक्रम संचालन परियोजना संयोजक अजय चौधरीले गर्नुभको थियो ।












