लैङ्गिक हिंसा अन्त्यका लागि स्थानीय सरकार प्रतिबद्ध छ : उपप्रमुख थारू

कपिलवस्तु ।

शिवराज नगरपालिकाकी उपप्रमुख शिवकुमारी थारूले लैङ्गिक हिंसा अन्त्यका लागि स्थानीय सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभएको छ । जेठ ९ र १० गते दुई दिनसम्म सञ्चालन भएको “लैङ्गिक हिंसा प्रेषण प्रणाली पुनरावलोकन कार्यशाला” मा बोल्दै उपप्रमुख थारूले समाजमा अझै पनि महिलाहरूले विभिन्न प्रकारका हिंसा भोग्नु परिरहेको अवस्था दुःखद रहेको उल्लेख गर्नुभयो ।

“लैङ्गिक हिंसा अन्त्य गर्न कानुन मात्र पर्याप्त छैन, यसका लागि सामाजिक चेतना र सामूहिक प्रयास आवश्यक छ,” उहाँले भन्नुभयो । ‘स्थानीय अधिकार कार्यक्रम’ अन्तर्गत आयोजित उक्त कार्यशालामा उपप्रमुख थारूले हिंसापीडित महिलाहरूलाई न्याय दिलाउन प्रेषण प्रणाली (Referral System) लाई थप प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले नगरपालिकाले हिंसा रोकथाम, पीडित संरक्षण र पुनर्स्थापनाका लागि बजेट विनियोजन गर्दै आइरहेको पनि जानकारी दिनुभयो ।

त्यसैगरी कार्यक्रम संयोजक अजय चौधरीले शिवराज नगरपालिकाका वडा नं. ४, १० र ११ मा लैङ्गिक हिंसा न्यूनीकरणका लागि ‘स्थानीय अधिकार कार्यक्रम’ मार्फत विगत तीन वर्षदेखि परियोजना सञ्चालनमा रहेको जानकारी दिनुभयो । उहाँका अनुसार उक्त परियोजनाले लक्षित वडाहरूमा महिला तथा बालिकाको अधिकार संरक्षण, हिंसा रोकथाम र पीडितलाई न्यायमा पहुँच पुर्‍याउने कार्य गर्दै आएको छ ।

दुई दिने उक्त कार्यशालाको सहजीकरण रिमा वि.सीले गर्नुभएको थियो । सहजकर्ता वि.सीले प्रेषण प्रणालीलाई थप व्यवस्थित र नतिजामुखी बनाउन सबै सरोकारवाला निकायबीच समन्वय र सहकार्य अपरिहार्य रहेको बताउनुभयो ।

कार्यशालामा सरोकारवाला निकायहरू, महिला अधिकारकर्मी, वडा अध्यक्ष, न्यायिक समितिका सदस्य तथा नागरिक समाजका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो । कार्यक्रमको आयोजना सिद्धार्थ सामाजिक विकास केन्द्रको आयोजना  एक्सनएड नेपालको आर्थिक सहयोगमा गरिएको थियो ।

धेरै पढिएको

ताजा समाचार