राष्ट्रिय माध्यमिक विद्यालयमा महिला नेतृत्व, विपना भुसाल अध्यक्ष चयन

चन्द्रौटा, कपिलवस्तु ।
शिवराज नगरपालिका वडा नं. ५ मा रहेको राष्ट्रिय माध्यमिक विद्यालयमा पहिलो पटक महिला नेतृत्व स्थापित भएको छ । सरकारले हालै लागू गरेको नयाँ व्यवस्थाअनुसार विद्यालय व्यवस्थापन समितिमा अभिभावक स्वयं सहभागी हुन पाउने प्रावधानपछि विद्यालय व्यवस्थापन समिति सदस्य विपना भुसाल (विष्णु भुसाल) लाई अध्यक्ष बन्ने अवसर खुलेको हो ।
विद्यालय व्यवस्थापन समितिको आज बसेको बैठकले सर्वसम्मत रूपमा भुसाललाई अध्यक्ष चयन गरेको विद्यालयका प्रधानाध्यापक प्रकाश अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार विद्यालयको शैक्षिक, प्रशासनिक तथा भौतिक विकासलाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ नयाँ नेतृत्व चयन गरिएको हो ।
स्थानीय स्तरमा शिक्षामा महिला सहभागिता र नेतृत्वको विषय लामो समयदेखि उठ्दै आएको अवस्थामा राष्ट्रिय माध्यमिक विद्यालयमा महिला नेतृत्व स्थापित हुनु सकारात्मक कदमका रूपमा हेरिएको छ । अभिभावक, शिक्षक तथा स्थानीय शिक्षा प्रेमीहरूले विद्यालय व्यवस्थापनमा महिलाको सक्रिय सहभागिताले विद्यालयको वातावरण अझ उत्तरदायी, समावेशी र प्रभावकारी बन्ने विश्वास व्यक्त गरेका छन् ।
नवनिर्वाचित अध्यक्ष विपना भुसालले विद्यालयको गुणस्तरीय शिक्षा, विद्यार्थीको सिकाइ उपलब्धि सुधार, अनुशासन कायम तथा अभिभावक र विद्यालयबीचको सम्बन्धलाई अझ मजबुत बनाउने आफ्नो प्राथमिकता रहने बताउनुभयो । उहाँले विद्यालयलाई समुदायसँग अझ नजिक बनाउँदै सबै पक्षसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
विद्यालयमा महिला नेतृत्व स्थापित भएसँगै स्थानीय स्तरमा यसको सकारात्मक सन्देश फैलिएको छ ।

धेरै पढिएको

ताजा समाचार