सिद्धार्थ सामाजिक विकास केन्द्रद्वारा शिवराजका १५३ जोखिममा रहेका बालबालिकालाई शैक्षिक सामग्री वितरण

शिवराज, कपिलवस्तु :
सिद्धार्थ सामाजिक विकास केन्द्रले कपिलवस्तुको शिवराज नगरपालिकामा रहेका जोखिममा परेका बालबालिकाहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ। नगरपालिकाको वडा नं. ४, १० र ११ भित्र सञ्चालित १७ वटा विद्यालय तथा मदरसामा अध्ययनरत १५३ जना विपन्न तथा जोखिममा रहेका बालबालिकालाई उक्त सहयोग प्रदान गरिएको हो।

विपन्न परिवारका बालबालिकाको पठनपाठनमा सहजता ल्याउने उद्देश्यले वितरण गरिएका सामग्रीहरूमा विद्यालय झोला, स्कुल पोशाक, जुत्ता, मोजा, कापी र पेन्सिललगायतका आवश्यक वस्तुहरू समावेश छन्।

केन्द्रका अनुसार प्रतिविद्यार्थी रु. २ हजार ८ सय २० बराबरको सामग्री उपलब्ध गराइएको छ। यस सहयोगले विपन्न परिवारको आर्थिक भार कम गर्नुका साथै विद्यालयमा बालबालिकाहरूको नियमित उपस्थितिलाई थप प्रोत्साहन गर्ने विश्वास संस्थाले लिएको छ।

शैक्षिक सामग्री वितरण कार्यक्रम परियोजना संयोजक अजय चौधरीको अध्यक्षता तथा वडा अध्यक्ष मञ्जु मिश्रको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा पुर्ण बहादुर विश्वकर्मा विशेष अतिथि र वडा सदस्य कान्थराम अहिर, ज्ञानोदय आधारभुत विधालयका प्रधानाध्यापक चिरन्जिवि घिमिरे अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।

कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरूले जोखिममा रहेका र विपन्न वर्गका बालबालिकाको सुनौलो भविष्यका लागि सामूहिक सहयोगको आवश्यकता रहेको औंल्याएका थिए। साथै, अतिथिहरूले नगरपालिकाभित्र समावेशी र समानतामूलक शिक्षा प्रवर्द्धन गर्न तथा कोही पनि बालबालिका शिक्षाबाट वञ्चित नहोऊन् भन्ने कुरामा आफ्नो प्रतिबद्धता पुनः व्यक्त गर्नुभएको थियो।

उक्त कार्यक्रमको सञ्चालन तथा सहजीकरण सिद्धार्थ सामाजिक विकास केन्द्रका सहायक कार्यक्रम अधिकृत सञ्जिव गहतराजले गर्नुभएको थियो। शैक्षिक सामग्री पाएपछि बालबालिका र उनीहरूका अभिभावकहरूले खुसी व्यक्त गरेका छन्।

धेरै पढिएको

ताजा समाचार