नेकपा एमाले जिल्ला कमिटी कपिलवस्तुको सातौँ विस्तारित बैठक तथा ‘मिसन पार्टी जागरण अभियान’ को अभिमुखीकरण कार्यक्रम बुद्धभूमि नगरपालिकामा सम्पन्न भएको छ । कार्यक्रममा पार्टीका केन्द्रीय तथा प्रदेश तहका नेताहरूले पार्टीलाई विधि, नीति र प्रणाली अनुसार अघि बढाउँदै आगामी निर्वाचनका लागि थप सशक्त बनाउनुपर्नेमा जोड दिएका छन् ।
मिसन पार्टी जागरण अभियानलाई सफल बनाउनका लागि जिल्लाकाे १० ओटै स्थानीय तहमा पालिका, वडा कमिटीहरुमा जिम्मेवारी बाँडफाँड गरिएको जिल्ला कमिटी सचिव चन्द्र बहादुर गहतराजले जानकारी दिए ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय कमिटी सचिव छविलाल विश्वकर्माले पार्टी विधि र प्रणाली अनुसार सञ्चालन हुनुपर्ने बताए । पार्टी सामूहिक रूपमा अघि बढेमा सबैमा अपनत्वको भावना विकास हुने भन्दै उनले परिस्थिति अनुसार रणनीति बनाएर अघि बढ्नुपर्नेमा जोड दिए ।
सिद्धान्तलाई व्यवहारमा लैजान नसके पार्टी सफल हुन नसक्ने उल्लेख गर्दै संविधान विपरीत हुने कुनै पनि गतिविधि स्वीकार्य नहुने स्पष्ट पार्दै उनले अहिले नै निराश हुनुपर्ने कुनै कारण नरहेको जिकिर गरे । उनले आगामी निर्वाचनमा पार्टीलाई सर्वस्वीकार्य बनाउने गरी संगठन निर्माण र जनतासँगको सम्बन्धलाई थप मजबुत बनाउनुपर्ने बताए ।
यस्तै केन्द्रीय कमिटी सदस्य गिरधारीलाल न्यौपानेले पार्टी आफ्नो बाटो र उद्देश्यबाट विचलित नभएको भन्दै आत्तिनुपर्ने अवस्था नरहेको बताए । पार्टी विभाजनतर्फ जान नहुने उल्लेख गर्दै उनले पार्टीलाई अझ बलियो र सशक्त बनाउन सबै नेता-कार्यकर्ता एकताबद्ध भएर अघि बढ्नुपर्ने बताए । एमाले अझै सशक्त र बलियो पार्टीका रूपमा रहेको उनको भनाई छ ।
नेकपा एमाले लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले पार्टीभित्र रहेका कमीकमजोरीको समीक्षा गर्दै सुधारका लागि अघि बढ्नुपर्ने बताए । ‘मिसन पार्टी जागरण अभियान’को मुख्य उद्देश्य पार्टीभित्र देखिएका निराशा चिर्दै नेता-कार्यकर्तामा नयाँ ऊर्जा र उत्साह पैदा गर्नु रहेको उनले बताए ।
पार्टीको नीति, नियम र निर्णयलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सके मात्रै संगठन थप बलियो बन्ने कँडेलले बताए । उनले पार्टीका गतिविधिलाई जनतामाझ प्रभावकारी रूपमा पुर्याउँदै संगठन विस्तारमा ध्यान दिन नेता-कार्यकर्तालाई आग्रह गरे ।
नेकपा एमाले कपिलवस्तुका जिल्ला अध्यक्ष बाबुराम खनालले पार्टीलाई थप सुदृढ र व्यवस्थित बनाउन संगठनभित्र एकता, अनुशासन र जिम्मेवारीबोध आवश्यक रहेको बताए । बदलिँदो राजनीतिक परिस्थितिअनुसार पार्टीका गतिविधिलाई प्रभावकारी बनाउँदै कार्यकर्तालाई सक्रिय र जिम्मेवार बनाउनुपर्ने उनकाे भनाई छ ।
कार्यक्रममा जिल्ला कमिटीका पदाधिकारी, सदस्य तथा विभिन्न तहका नेता-कार्यकर्ताको सहभागिता रहेको थियो ।








