शिवराज, कपिलवस्तु ।
नेकपा (एमाले) शिवराज नगर कमिटीको छैटौँ विस्तारित बैठकले पार्टी सङ्गठनभित्र व्यापक शुद्धीकरण र सुदृढीकरणको उद्घोष गर्दै ‘मिसन पार्टी जागरण अभियान’ को भव्य शुभारम्भ गरेको छ। बैठकले पार्टी हितविपरीत र अन्तर्घाती गतिविधिमा संलग्नहरूलाई कडा कारबाही गर्ने सिफारिस गर्नेदेखि सांगठनिक सुदृढीकरणका महत्त्वपूर्ण निर्णयहरू गरेको छ।
बैठकले हालै सम्पन्न संघीय निर्वाचनमा पार्टीको आधिकारिक निर्णय र मर्यादाविपरीत समानान्तर गतिविधि तथा अन्तर्घातमा संलग्न भएका केही नेता तथा कार्यकर्ताहरूलाई हदैसम्मको अनुशासनको कारबाहीका लागि जिल्ला कमिटीमा सिफारिस गर्ने कडा निर्णय गरेको छ। अर्कोतर्फ, निर्वाचनमा पार्टीलाई विजयी गराउन अहोरात्र खटिएका निष्ठावान कार्यकर्ताहरूलाई उच्च मूल्याङ्कन गर्दै नयाँ जिम्मेवारी र कार्यविभाजन सुम्पिएको छ।
बैठकमा शिवराज नगरपालिकाका सबै वडा कमिटी अध्यक्षहरूले आफ्नो सांगठनिक अवस्थाबारे कडा रिपोर्टिङ प्रस्तुत गरेका थिए। रिपोर्टिङका क्रममा शिवराजमा हालसम्म ७० प्रतिशत संगठित सदस्यता नवीकरण भइसकेको र बाँकी नवीकरण तथा नयाँ सदस्यता वितरण कार्यलाई तत्काल तीव्र गतिमा अगाडि बढाउने निर्णय भएको छ। बैठकले ‘मिसन पार्टी जागरण अभियान’ लाई गाउँ-गाउँ र टोल-टोलसम्म पुर्याउन नेता तथा कमरेडहरूको जिम्मेवारी बाँडफाँड समेत गरेको छ।
बैठकलाई सम्बोधन गर्दै प्रमुख अतिथि एमाले केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश सभा सदस्य गिरधारीलाल न्यौपानेसहितका वक्ताहरूले गत निर्वाचनमा चौतर्फी घेराबन्दीका कारण पार्टीलाई केही धक्का लागे पनि छोटो समयमै जनताले आफ्नो गल्ती महसुस गरिसकेको दाबी गर्नुभयो। “देश विकास गर्ने र जनमुखी कार्यक्रम ल्याउने पार्टी केवल एमाले मात्रै हो भन्ने सत्य जनताले बुझिसकेका छन्,” नेताहरूले भन्नुभयो, “अब हाम्रा गौरवशाली इतिहास र विकासका कामहरू बुझाउन फेरि जनताकै घरदैलोमा पुग्नुपर्छ।”
नगर कमिटी अध्यक्ष महादेव पोखरेलको अध्यक्षतामा सम्पन्न बैठकमा एमाले केन्द्रीय सदस्य शिवकुमारी थारु, पूर्व पोलिटब्युरो सदस्य बिमला घिमिरे, केन्द्रीय निर्वाचन आयोग सदस्य झविलाल पोखरेल, जिल्ला कमिटी अध्यक्ष बाबुराम खनाल, प्रदेश कमिटी सदस्यद्वय नेत्रराज अधिकारी र अर्जुनकुमार केसी लगायतका शीर्ष नेताहरूले पार्टीलाई अबको चुनावमा पहिलो र जनप्रिय शक्ति बनाउन सबै नेता-कार्यकर्ता एकढिक्का भएर लाग्नुपर्नेमा जोड दिनुभयो।
बैठकमा जिल्ला कमिटी सचिव सिबी गहतराजले पार्टीको अन्तरकमिटी निर्देशन (सर्कुलर) बारे विस्तृत जानकारी प्रस्तुत गर्नुभएको थियो। नगर कमिटी उपाध्यक्ष टेकलाल सापकोटाको स्वागत मन्तव्यबाट सुरु भएको बैठकको सञ्चालन सचिव गोपालप्रसाद बन्जाडेले गर्नुभएको थियो ।








