लुम्बिनी प्रदेश सभा सदस्य अर्जुन के‍.सिद्वारा विपन्न तथा जेहेन्दार विद्यार्थीलाई रु. १ लाख बराबरको शैक्षिक सामग्री वितरण


​कपिलवस्तु।
कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ०५ चन्द्रौटामा अवस्थित श्री राष्ट्रिय माध्यमिक विद्यालयका गरिब, विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको छ। लुम्बिनी प्रदेश सभा सदस्य एवं पूर्व मन्त्री माननीय अर्जुन कुमार के.सी.को निजी तथा विशेष सहयोगमा विद्यालयका बालबालिकाहरूलाई रु. १,००,०००/- (एक लाख) बराबरको विद्यालय पोशाक (ड्रेस), जुत्ता, मोजा तथा स्कुल झोला वितरण गरिएको हो।
​आर्थिक अभावका कारण कुनै पनि बालबालिका शिक्षाको पहुँचबाट टाढा हुन नपरोस् भन्ने उद्देश्यका साथ आयोजना गरिएको सो कार्यक्रममा लक्षित वर्गका विद्यार्थीहरूलाई प्रत्यक्ष रूपमा सामग्री हस्तान्तरण गरिएको थियो।
​सामग्री वितरण पश्चात आयोजित औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य अर्जुन कुमार के.सी.ले गरिबीकै कारण समाजका कुनै पनि बालबालिका शिक्षाको उज्यालो घामबाट वञ्चित हुन नहुने बताउनुभयो। शिक्षा क्षेत्रको सुधार र बालबालिकाको उज्ज्वल भविष्यका लागि आफू निरन्तर प्रतिबद्ध रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “प्रत्येक वर्ष १० जना असहाय तथा विपन्न विद्यार्थीको पूर्ण अभिभावकत्व ग्रहण गर्न म तयार छु। विद्यालय प्रशासनले त्यस्ता बालबालिकाहरूको वास्तविक अवस्था र आवश्यकता पहिचान गरी मलाई समयमै अवगत गराउनुहुन अनुरोध गर्दछु।”
​कार्यक्रममा विद्यालय व्यवस्थापन समितिकापदाधिकारी, प्रधानाध्यापक, शिक्षक, अभिभावक तथा स्थानीय समाजसेवीहरूको उपस्थिति रहेको थियो। विद्यालय परिवारले प्रदेश सभा सदस्य के.सी.को यो सराहनीय कार्यप्रति हार्दिक आभार व्यक्त गर्दै यस्ता सहयोगले विद्यार्थीहरूको पढाइप्रतिको उत्साह र निरन्तरतामा ठूलो सहयोग पुग्ने बताएका छन्

धेरै पढिएको

ताजा समाचार