शिवराज (कपिलवस्तु) —
अन्तरपुस्ता महिलावादी मञ्चको आयोजनामा कपिलवस्तुको शिवराज नगरपालिका स्थित चन्द्रौटा चोकमा ‘अनुपम अभियान’अन्तर्गत एक कोणसभा सम्पन्न भएको छ।
शिवराज नगरपालिकाकी उपप्रमुख शिवकुमारी थारुको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा महिला अधिकार, समानता तथा महिलाको सामाजिक सहभागिताका विषयमा व्यापक छलफल गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि उपप्रमुख थारु तथा अन्य वक्ताहरूले समाजमा महिलाको पहुँच र अधिकार सुनिश्चित गर्नका लागि एकजुट भएर अगाडि बढ्नुपर्नेमा जोड दिए।
कोणसभामा महिला अधिकारकर्मीहरू मीना परियार, कविता आचार्य, टिका विक, शुभावती कुर्मी र तौलेश्वर चौधरीलगायतले आफ्ना धारणा राख्दै महिला हिंसा अन्त्य र सामाजिक न्यायका लागि यस्ता अभियानको ठूलो महत्व रहने बताए।कार्यक्रममा स्थानीय बासिन्दा, अधिकारकर्मी तथा सर्वसाधारणको उपस्थिति रहेको थियो।










